केपटाउन- दक्षिण अफ्रिकी क्रिकेटर एबी डे भिलियर्सले खेलाडी जीवनबाट संन्यास लिएका छन्। सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए। ३७ वर्षीय यी क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग-आईपीएल खेल्दै आएका थिए।

डे भिलियर्सले टेस्ट क्रिकेटमा एक सय १४ खेल खेल्दै २२ शतक र ४६ अर्धशतकसहित ८ हजार ७ सय ६५ रन बनाएका छन्। यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय २८ खेल खेलेकामा २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५ सय ७७ रन बनाएका छन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ खेल खेल्दै १० पटक अर्धशतक बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा सबैभन्दा थोरै बेलमा अर्धशतक, शतक र एक सय ५० रन बनाउने खेलाडीको विश्व कीर्तिमान रहेको छ। उनी तीनपटक आईसिसी ओडीआई प्लेयर अफ दी इयर घोषित भएका थिए। उनलाई आईसिसीले पछिल्लो दशककै सर्वोत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीको अवार्ड पनि दिएको थियो।

डे भिलियर्सले दक्षिण अफ्रिकालाई सबै तीन स्वरुपको क्रिकेटमा कप्तानी गरेका थिए। मैदानका सबै दिशामा बल प्रहार गर्न सक्ने क्षमताका कारण उनी ‘मिस्टर ३६०’ उपनामले समेत परिचित छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय