काठमाडाैँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेसनका क्रममा भएको अनलाइन भोटिङ सिस्टम मार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन्।

असोज ३० गतेदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन्।

‘पूर्व नियोजित रुपमा सेटिंग गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन। संघको तर्फबाट भेरोसंग मास्टर कपि माग गरिएको छ,’श्रेष्ठ र शर्माले शुक्रबार बिहान संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका छन्,‘२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले हामीलाई मान्य छैन। अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको छ। भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ। यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन।’

उनीहरुले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११ औँ महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्ति मार्फत जनाएका छन्। यता, निर्वाचन समितिले सून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ। ‘विद्युतीय माध्यम बाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेसित निर्वाचन परिणाम जस्तातस्तै बाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शुन्य उल्लेख भएको कारण विवाद सिर्जन भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्य तत्य सार्वजनिक गरिनेछ।’

सार्वजनिक परिणाम अनुसार डा. केसी अध्यक्षमा निर्वाचित

निर्वाचन समितिले घाेषणा गरेकाे परिणाम अनुसार डा. बद्री  केसी १३७८ मत ल्याएर विजयी भएका छन्, भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।

‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ’ श्रेष्ठले मतदातालाई सम्बोधन गर्दै भने ।

‘अब एनआरएनए शून्यमा गयो । परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइयो’ शर्माले भने ।

त्यस्तै उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले निर्वाचनमा धाँधली गरेको आरोप लगाए । उनले जितलाई स्वीकार नगर्ने बताए ।

विजयी उम्मेदवारले कति मत ल्याए ?

६ उपाध्यक्षमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) निर्वाचित भए ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् ।

युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए ।

महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) विजयी भएका छन् ।

६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन् ।

महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन् ।

कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् ।

सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् ।

अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत ल्याएर विजयी भइन् ।

युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय