

काठमाडाैँ – भर्खरै कमल थापालाई पराजित गरेर चर्चित भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि झापाको अर्जुनधारा नगरपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको करिब १० करोड मूल्यको एक बिगाहा तीन कठ्ठा जग्गा कब्जा गरेको आरोप लागेको छ ।
अहिले उनी बसिरहेको घर भएको जग्गा त्यही आरोप लागेको ठाउँ हो । जहाँ उनले घर बनाएर कम्पाउन्डले घेरेका छन् ।
भ्रष्टाचार र अपराध गर्नु आमाको रगत चुस्नुसरह भएको भनेर पटक पटक भाषण गर्ने गरेका तिनै लिङदेनमाथि झापाको एक निम्नवर्गीय परिवारले आफ्नो जग्गा कब्जा गरेर अन्याय गर्दै बिचल्ली बनाएको आरोप लगाएको छ । सत्ता,शक्ति र बलको प्रयोग गरेर लिङदेनले कानुनी रुपमा आफ्नो परिवारको नाममा भएको जग्गा बलजफ्ती कब्जा गरेको उक्त परिवारको दाबी छ ।
२०२५ सालदेखि आफ्नो परिवारले जोतभोग गर्दै आएको र आफ्नै नाममा दर्ता कायम रहेको जग्गा जालसाजी गरी अर्काको नाममा दर्ता गराउने कार्य भूपू प्रधानपञ्च गोविन्द बस्नेतकी श्रीमती विष्णुकुमारी बस्नेतको नामबाट लिङदेनले आफ्नो नाममा लगेर अन्याय गरेको पीडित परिवारकी ज्येष्ठ सदस्य ८० वर्षीया खिनमाया कट्टेलले आरोप लगाएकी छन् ।
उनले आफ्ना श्रीमान गजाधर कट्टेलको नाममा दर्ता कायम रहेको जग्गा जालसाजीपूर्वक भूपू प्रधानपन्च बस्नेत र लिङ्देन मिलेर हडपेको दाबी गरेकी हुन् ।उनले बस्नेतसँग जग्गाको विवाद रहेको जानकारी रहेकै समयमा लिङ्देनले जग्गा आफ्नो नाममा लगेर बलजफ्ती संरचना बनाएर कट्टेल परिवारको बचल्ली बनाएको उनले दाबी गरेकी छन् ।
आफ्नो परिवारसँग सो जग्गाको धनीपुर्जा र अन्य कागजात रहेको, जोतभोग पनि गर्दै आएको समयमा नेता लिङ्देनले जग्गा कब्जा गरेर आफ्नो परिवारको उठिबास लगाएको आरोप लगाएकी हुन् । पटक पटक अनुरोध गर्दा पनि लिङ्देनले आफ्नो परिवारमाथि न्याय गर्नुको सट्टा थप पीडा मात्रै दिएको उनले दुःखेसो समेत पोखेकी छन् ।
उनका छोरा डिल्लीराम कट्टेलले बस्नेतले जालसाजी गरी आफू सत्तामा रहेको समयमा आफ्नो परिवारको भोगाधिकार रहेको जग्गा अर्को गाउँपालिकाबाट दर्ता गराएको र त्यहि किर्ते कागजातका भरमा लिङ्देनलाई दिन लागेको सूचना पाएपछि आफूले जानकारी गराउँदासमेत लिङ्देनले न्याय गर्नुको साटो आफ्नो नाममा लगेर जग्गा हडपेको दाबी गरेका छन् ।
उनले सबै कुरा थाहा पाउँदासमेत लिङ्देनले जग्गा सारेर आफू समर्थित समूहको बलप्रयोग गरी हडपेको बताएका छन् । उनले लिङ्देनलाई आफू र आफ्नो परिवारले पटक पटक अन्यायमा परेको भनेर न्यायका लागि भीख माग्दासमेत सुनुवाई र सहयोग गर्नुको साटो आफू समर्थित युवा प्रयोग गरेर आफ्नो परिवारले जोतभोक गरेर जीविकोपार्जन गर्दै आएको जग्गा कब्जा गरेको बताएका छन् । #janaastha बाट
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal