लिस्वन–  गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व आइसीसी सदस्य राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने जनाएका छन्।

विगत १५ वर्ष देखि नर्वेको ओस्लो बसोबास गर्दै आएका अर्याल पेशाले पेट्रोलियम इन्जिनियरिङ क्षेत्रमा आवद्ध छन् ।

उनले सन् २०१७ – २०१९ मा एनआरएनए नर्वेको महासचिव, सन् २०१९ – २०२१ तथा २०२१-२०२३ मा अन्तरराष्ट्रिय समन्वय परिषदको सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यस्तै उनले संघको युरोप क्षेत्रीय भेला २०२० को सदस्य सचिव तथा युरोप ज्ञान सम्मेलन २०२० को संयोजकको रुपमा पनि काम गरेका थिए।

विदेशमा सिकेको ज्ञान, सिप र लगानीलाई नेपालको बृहत्तर हितको लागि सदुपयोग गर्न आफूले २०२३-२५ कार्यकालका लागि युरोप उपसंयोजक पदकमा उम्मेदवारी दिन लागेको उनले बताए।

“नर्वेमा रहेर आफूले प्राप्त गरेको अनुभवलाई समेत यो अभियानमा सदुपयोग गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु। सबैको साथ तथा सहयोगको अपेक्षा गरेको छु,” उनले भने।

आफू युरोप उपसंयोजक पदमा निर्वाचित भएमा संघको विधानमा उल्लेख भए अनुसार क्षेत्रीय सचिवालय स्थापना गर्न पहल गर्ने, ‘एक्शन ओरिएन्टेड’ नतिजा दिन प्रयास गर्ने तथा युरोप क्षेत्रका गतिविधिहरुको अभिलेखीकरण गर्न काम गर्ने उनले बताए।

“म निर्वाचित भएँ भने युरोप क्षेत्रमा दोश्रो पुस्ताका युवा तथा महिलालाई संघको गतिविधिमा सामेल गर्न अधिकतम प्रयास गर्ने छु। त्यस्तै युरोपमा कार्यरत नेपाली वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ताहरु, चिकित्सक, इन्जिनियर लगायत पेशेवरहरुको सीप, अनुभव र संजाल नेपाल स्थानान्तरण गर्न पेशागत पहल गर्ने छु,” अर्यालले भने।

‘यसै गरी युरोपमा नेपाली पर्यटन तथा निर्यात प्रवर्द्धन गर्नुका साथै मानव तस्करी निरुत्साहित गर्नु मेरो प्राथमिकता हुनेछ।  नेपाली भाषा, कला, संस्कृति तथा खानाको संरक्षण तथा सम्वर्धन गर्न एवं  वंशजको नागरिकता सहित नेपाली नागरिकताको निरन्तरताका लागि पनि अभियान चलाउने छु’, उनको अठोट छ ।

चितवनमा जन्मिएका अर्यालले नेपाली वायु सेवाहरुका लागि युरोपेली आकाश खुला गर्नुका साथै नेपालमा युरोपेली सहयोग अभिवृद्धि गर्न पनि गैरआवासीय नेपाली संघले ध्यान केन्द्रित गर्नु पर्ने बताए। “युरोपबाट नेपालले लिन सक्ने फाइदा धेरै छन्, तर त्यसतर्फ खासै काम हुनसकेको छैन, “अर्यालले भने।

‘युरोपस्थित नेपाली कूटनीतिक नियोगहरूसंग सहकार्य गरी संस्थागत रुपमा नेपाल प्रवर्धन गर्नका लागि पनि मेरो उम्मेदवारी हो’, उनले थपे ।

उनले संघका सबै डेलिगेट्सहरुलाई आफ्नो एजेन्डाको आधारमा आफूलाई सहयोग गर्न पनि अपिल गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय