दिल्ली- भारतको राजधानी दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । दिल्ली आसपासका राज्यमा पराल जलाउँदा र दीपावलीमा भएको आतिशबाजीका कारण वायु प्रदूषण बढेको हो ।

शुक्रबार औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेको छ । तर, दिल्लीका कैयौं इलाका ‘जोखिमपूर्ण क्षेत्र’ रेड जोन बन्न पुगेका छन् । बिहान दिल्लीका दुई स्थानमा वायु गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स ७ सय पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई राम्रो मानिन्छ । ३ सय १ देखि ४ सयसम्म निकै खराब र ४ सय १ देखि ५ सय सम्मको सूचकांकलाई गम्भीर मानिन्छ ।

वायु प्रदूषण बढेसँगै दिल्लीका कयौं स्थानमा भिजिबिलिटी कम भएको छ । दिल्लीको आकाशमा रहेको धुवाँ अझै एक दिनसम्म रहने सेन्टर फर साइन्स एन्ड इन्भाइरोन्मेन्टले जनाएको छ । केही दिनदेखि दिल्लीको वायु निकै खराब बनेसँगै मानिसले विभिन्न समस्या भोग्न थालेका छन् ।

विज्ञहरूले वायुमण्डलमा रहेको प्रदूषित धुवाँका कारण आपतकाल जस्तै अवस्था सिर्जना भएको भन्दै तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । वायु प्रदूषण हुनुमा मुख्य कारक बनेका सवारी साधन, उद्योग तथा सडकमा कडाइ गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय