धादिङ्ग – धादिङ अस्पतालले आज (भदौ १ गते)देखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ । आईसीयू, एनआईसीयू र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या अस्पतालले बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो ।

प्रादेशिक अस्पतालको शय्या शुल्क निःशुल्क गराउने वाग्मती प्रदेश सरकारको निर्णयअनुसार शय्या निःशुल्क गराइएको अस्पतालका सूचना अधिकारी राम रिजालले बताए । दैनिक १०० रूपैयाँ शुल्क लिँदै आएकोमा अबदेखि निःशुल्क गराइएको उनले जानकारी दिए ।

५० शय्या स्वीकृति रहेको धादिङ अस्पतालले हाल ९० शय्या सञ्चालन गरिरहेको छ । सूचना अधिकारी रिजालका अनुसार अहिले जनरल वार्डमा भएका ७९ वटा शय्या निःशुल्क गरिएको छ । दुई, चार दिनअघिदेखि भर्ना भएका बिरामीलाई शुल्क लिइए पनि शुक्रबारदेखि भर्ना भएका बिरामीलाई शय्या निःशुल्क गरिएको रिजालको भनाइ छ ।

अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा ८११ शैय्या निःशुल्क उपलब्ध गराइने प्रदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पुनःस्थापना र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । रासस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय