लिस्वन – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी समाज पाेर्तुगलले एक विशेष कार्यक्रमकाे आयाेजना गरि राष्ट्र निर्माताकाे सम्झना गरेकाे छ ।

गाेरखाका राजा नरभुपाल शाहकाे जेठाे सन्तानकाे रुपमा वि.सं. १७७९ पाैष २७ मा जन्मेका शाहले बाईसे र चाैविसे राज्यमा विभक्त राज्यहरुलाई एकीकरण गरि सिंगाे नेपालकाे निर्माण गरेका थिए । तिनै राष्ट्र निर्माता शाहकाे जन्मजयन्तीकाे अवसरमा ठकुरी समाज पाेर्तुगलले पनि एक कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यम्रममा समाजका अध्यक्ष शिव सेन ठकुरीले पृथ्वीनारायण शाह नभएको भए आफूहरु अहिले नेपाली नै नहुने भन्दै अहिले मुलुकभित्र र बाहिर राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

त्यस्तै कार्यक्रममा अन्य वक्ताहरुले नेपाल एकीकरणका महानायक शाहबारे भ्रामक तथा गलत प्रचारबाजी गर्न एकथरिले निकै अघिदेखि नै सुनियोजित प्रयत्न गर्दै आएको भन्दै कडा आलोचना गरेका थिए । आफूलाई सङ्घीय राज्यको पक्षधर बताउने र जातिय राज्यको पक्षमा गतिविधि गर्दै आएका कतिपयले पृथ्वीनारायण शाहको योगदानलाई नजरअन्दाज गर्न खाेजेकाेमा आक्राेस व्यक्त गरेका थिए ।

कार्यक्रममा दिपेन्द्र हमाल, देवेन मल्ल, सज्जन हमाल, प्रताप हमाल, रोहितधोज मल्ल, बलराज मल्ल लगायतले धारणा राख्दै इतिहासको कठिन समयमा पनि हजारौँ सहयोद्धाको साथ लिएर पृथ्वीनारायण शाहले नेपाललाई विखण्डन हुनबाट बचाएको, नेपाललाई विश्वमा चिनाएको बताएका थिए ।

समाजका सचिव सागर शाहले सहजिकरण गरेको कार्यक्रममा महासचिव रमेश मल्लले स्वागत मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय