जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले पनि भेटवार्ता गर्ने भएका छन्।

यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्ने भएका छन्।

प्रधानमन्त्री देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो।

सम्मेलनअन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्ने क्रम आज पनि जारी छ।

सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखसँगै प्रधानमन्त्री देउवाले पनि सम्मेलनलाई सम्बोधन गरे।

मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ ।

सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय