काबुल- संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

अफगानिस्तानको यतिसम्म संकट उत्पन्न भएको छ कि अभावले ग्रस्त परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बिक्री गरेकी छिन् । उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेकी हुन् । सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दु:खी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’

उनका श्रीमान् कबाडी संकलनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं । हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छन्, ‘मेरी छोरीलाई उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ ।’

अहिले ती बालिका हेरातस्थित एउटा अस्पतालमै रहेकी छिन् । उनी हिँड्न सक्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन् । ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन् । तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय