काठमाडाैँ – कर्पोरेट सेक्टरमा बेन्चमार्क खडा गर्ने भनेर खोलिएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्थापनाकालदेखि नै मेडिकल निर्देशक रहेका डा. चक्रराज पाण्डे अन्ततः बाहिरिएका छन् ।

७ कात्तिकमा मेडिकल निर्देशक र बोर्डबाट हटेका डा. पाण्डेले दुई सातादेखि अस्पतालमा प्रायाक्टिस गर्न समेत छाडेका छन् । डा. पाण्डेले पनि दुई सातादेखि आफू ग्राण्डी जान छाडेको पुष्टि गरे । ‘मैले छोड्नुभन्दा पनि त्यहाँको स्थिती नै त्यस्तो बनेपछि म जान छाडे,’ उनले भने ।

अहिले डा. पाण्डे पूर्णकालीन समय एक वर्षअघि आफैले लाजिम्पाटमा खोलेको अर्थोपेडिक सेन्टरमा व्यस्त हुने थालेका छन् । ‘म पूर्णकालीन रुपमा लाजिम्पाटको आफ्नै अनामिवा क्लिनिकमा व्यस्त छु,’ उनले भने, ‘शल्यक्रिया गर्नका लागि नर्भिक जाने गरेको छु ।’

ग्राण्डी निकट स्रोतकाअनुसार डा. पाण्डे बाहिरिएसँगै अहिले ग्राण्डी अस्पतालको मेडिकल निर्देशकमा यसअघि डेपुटी निर्देशक रहेका डा. विनोद विजेक्छ नियुक्त भएका छन् । अस्पतालको डेपुटी निर्देशकको खोजी पनि व्यवस्थापनले अगाडि बढाएको छ ।

ग्राण्डीका संस्थापक एवं परिकल्पनाकार डा. पाण्डे हुन् । लामो समयदेखि व्यवस्थापन देखिएको किचलोका कारण डा. पाण्डे दबाब थेग्न नसकेपछि अस्पतालको मेडिकल निर्देशक, सञ्चालक समितिबाट ७ कात्तिकमा सम्पन्न साधारणसभाबाट औपचारिक रुपमा बिदा भएका थिए ।

तर, उनले यसअघि आफूले जन्माएको संस्था भएकाले ग्राण्डीमै आफू डाक्टरका रुपमा प्रायाक्टिस गर्ने प्रतिक्रिया दिएका थिए । ‘मैले रगत र पसिनाले सिर्जेको अस्पतालको राम्रोका लागि बोर्ड र निर्देशकबाट बिदा लिने निर्णय गरे,’ अस्पतालका सेयरहोल्डर समेत रहेका उनले त्यतिबेला भनेका थिए, ‘तर, मेरो विज्ञता मैले जन्माएका संस्थाका लागि सधैं रहिरहन्छ ।’

व्यवस्थापनसँग कटुता र चिसोपनका कारण डाक्टरका रुपमा समेत ग्राण्डीमा प्रायाक्टिस गर्न सक्ने वातावरण नरहेपछि डा. पाण्डे दुई साताअघिदेखि ग्राण्डी जानै छाडेका हुन् । उनले नर्भिक काम गर्न थालिसकेका छन् । अध्यक्ष ई. दीपक कुँवरसँग डा. पाण्डेको झण्डै १६—१७ महिनादेखि विवाद परेपछि उनी अस्पतालको लगानीबाहेक अरु सबै भूमिकाबाट बाहिरिएका हुन् । उनको ग्राण्डीमा झण्डै ३.५ प्रतिशत हाराहारीमा शेयर छ ।

कुँवरले गत असारमा सम्पन्न बार्षिकोत्सव र दशैंअघि कर्मचारीसँगको भेटघाटमा डा. पाण्डेको सार्वजनिक रुपमा आलोचना गरेका थिए । डा. पाण्डे र अस्पताल अन्य सञ्चालकबीच स्थापना भएको केही समयदेखि नै विवाद रहँदैं आएको थियो ।

सुरुमा एकथरी लगानीकर्तासँग राम्रो सम्बन्ध नरहेका उनको गत वर्षदेखि अहिलेको सञ्चालक समितिका अध्यक्ष ई.दीपक कुँवरसँग पनि विवाद चुलिएको थियो । जसका कारण अघिल्लो वर्षको कात्तिकमा नै डा. पाण्डेले ग्राण्डीको जिम्मेवारी अलग्गिने मनस्थितीसहित लाजिम्पाटमा छुट्टै ‘अनामिवा क्लिनिक’ सुरु गरिसकेका थिए ।

तर, मेडिकल निर्देशक साधारणसभाले मात्रै परिवर्तन गर्न सक्ने भएकाले उनी केही समय ग्राण्डीको निर्देशककै रुपमा कार्यरत रहे । गत कात्तिक ७ मा सम्पन्न साधारणसभाबाट उनले मेडिकल निर्देशक र अस्पतालको सञ्चालक समिति छोडेका थिए ।

धापासी हाइटस्थित ३२ रोपनीमा जग्गामा फैलिएको १५ तले आलिशान भवनमा रहेको ग्राण्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन् । अस्पतालमा देशकै गनेचुनेका चिकित्सकहरुको सशक्त टिम छ । सुरुमा ४९ जना लगानीकर्ता रहेको ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता छन् ।  #healthawaj

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय