काठमाडौं – कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको सम्बन्धले नयाँ मोड लिएको संकेत हालै दीपाश्रीको भ्यालेन्टाइन्स डेको पोस्टमार्फत आएको छ। यो पोस्टले धेरैलाई उनीहरूको आपसी सम्बन्धलाई लिएर नयाँ अड्कलबाजी गर्न प्रेरित गरेको छ।

१४ फेब्रुअरीलाई विश्वभर प्रेमी-प्रेमिकाले भ्यालेन्टाइन्स डेको रूपमा मनाउने परम्परा छ, जसमा प्रेम व्यक्त गर्नका लागि रोमान्टिक सन्देश र तस्बिरहरू आदानप्रदान गरिन्छ। यही दिन, दीपाश्रीले दिपकराजसँगका अन्तरंग तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गर्दै “ह्याप्पी भ्यालेन्टाइन्स डे” लेखेकी छन्। यसका साथै, उनले प्रेमको इमोजी समेत प्रयोग गरेर भावनालाई अझ बलियो बनाएकी छन्। यो पोस्टले उनीहरूको प्रेम सम्बन्धबारे खुलेर संकेत गरेको धेरैको बुझाइ छ।

तर, यो विषयको पेचिलो पक्ष भने दिपकराज विवाहित हुनु हो। उनका दुई छोराछोरी छन्, र उनी श्रीमतीसँग खुसीसँग बसिरहेका छन्। यसैले, दीपाश्रीको पोस्टले सामाजिक मञ्चमा धेरै चर्चा र बहसलाई जन्म दिएको छ। यो पोस्टपछि दिपकराजले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्, न त उनले आफ्नो श्रीमतीलाई भ्यालेन्टाइन्स डेमा कुनै सार्वजनिक सन्देश लेखेका छन्।

दिपकराज र दीपाश्रीको सहकार्य लामो समयदेखि चल्दै आएको हो। उनीहरूको सहकार्यको सुरुवात रेडियो कार्यक्रम ‘धनियाँकी दुनियाँ’ बाट भएको थियो। त्यसपछि टेलिश्रृंखला ‘तितो सत्य’ ले उनीहरूलाई थप नजिक बनाएको थियो। ‘तितो सत्य’ समाप्त भएपछि पनि उनीहरू फिल्म क्षेत्रमा सहकार्य गर्दै आएका छन्, र अहिलेसम्म मिलेर ७ वटा चलचित्र निर्माण गरिसकेका छन्।

दीपाश्री र दिपकराजबीचको ‘सामान्य भन्दा फरक’ सामिप्यता वर्षौँदेखि चर्चा र अड्कलको विषय बन्दै आएको थियो। तर, दुवैले आफ्नो सम्बन्धलाई “राम्रो साथी” को रूपमा मात्र व्याख्या गर्दै आएका थिए। विभिन्न अन्तरवार्तामा उनीहरूले एकअर्काप्रति सम्मान र झुकाव देखाए पनि प्रेम सम्बन्धको खुलेर स्वीकारोक्ति भने दिएका थिएनन्।

दीपाश्रीको यस पछिल्लो पोस्टले उनीहरूको सम्बन्धबारे थप खुल्दुली बढाएको छ। अब यो देख्न बाँकी छ कि दिपकराजले यसबारे कुनै स्पष्टीकरण दिनेछन् या सामाजिक संजालमा कुनै प्रतिक्रिया जनाउनेछन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय