-नवराज दुवाडी

नेकपा एमालेले फेसबुकमा ‘म झोले हो’ अभियान चलाएर सामाजिक सञ्जाललाई तताएको छ। यो अभियानको उद्गमविन्दु स्वयं प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको त्यो भनाइ हो, जहाँ उनले गर्वका साथ घोषणा गरे, “म एमालेको झोले हुँ, यस देशको झोले हुँ, परिवर्तनको झोले हुँ!” यो सुन्दा लाग्छ, झोला अब केवल सामान बोक्ने साधन होइन, यो त गर्वको प्रतीक, पहिचानको बिल्ला र क्रान्तिको झण्डा बनिसक्यो! उपप्रधानमन्त्री विष्णु पौडेलदेखि महासचिव शंकर पोखरेलसम्मले फेसबुकमा ‘म झोले हो’ लेखेर आफूलाई यो गौरवशाली उपाधिमा सुशोभित गरिसके। तर यो अभियान कति गहिरो छ, कति सतही छ, त्यसको लेखाजोखा गर्नुपर्ने बेला आएको छ।

झोलेको गर्व, कि गर्वको झोला?
नेपाली राजनीतिमा ‘झोले’ शब्दको इतिहास लामो छ। कुनै बेला यो शब्द कार्यकर्तालाई हाँसोको पात्र बनाउन प्रयोग हुन्थ्यो। नेताको पछिपछि झोला बोकेर हिँड्ने, नारा लगाउने, चाकडी गर्ने अनि बेलाबेला ‘कार्यकर्ता’को परिभाषा बिर्सेर ‘हर्कतकर्ता’ बन्नेहरूलाई ‘झोले’ भनिन्थ्यो। तर, एमालेले यो शब्दलाई उछालेर नयाँ अर्थ दिन खोजेको छ। अब झोले हुनु भनेको देशप्रेमी, परिवर्तनकारी र समर्पित कार्यकर्ता हुनु हो, कम्तीमा उनीहरूको फेसबुक पोस्टले त यही भन्छ। तर प्रश्न उठ्छ, के यो अभियान साँच्चै विचारको उभार हो, कि केवल सामाजिक सञ्जालको ‘ट्रेन्ड’ पछ्याउने नयाँ नौटङ्की?

यो अभियानलाई बुझ्न फेसबुकको भित्ता नियाल्नुपर्छ। एमालेका नेताहरूले एकपछि अर्को गर्दै ‘म झोले हो’ लेखेर आफूलाई जनताको सेवक र परिवर्तनको संवाहक ठान्ने दाबी गरेका छन्। तर, यो देख्दा लाग्छ, यो अभियान कतै जनताको मन जित्ने रणनीति त होइन? आखिर, फेसबुकमा ‘ट्रेन्ड’ बनाउनु र सडकमा जनमत बनाउनुमा ठूलो खाडल छ। जब सत्तारूढ दलका नेताहरू ‘झोले’ बन्न उत्साहित छन्, तर सडकमा जनताले झोला बोकेर बजारको मूल्यवृद्धि र अभावको सामना गर्नुपरिरहेको छ, तब यो अभियान कति विश्वसनीय छ भन्ने प्रश्न उठ्छ।

झोले अभियानको ‘झोला’मा के छ?
यो अभियानको सबैभन्दा रमाइलो पक्ष त के भने, ‘झोले’ शब्दलाई गर्वको प्रतीक बनाउने प्रयासले विपक्षीहरूलाई नयाँ हतियार दिएको छ। सामाजिक सञ्जालमा कतिपयले त ‘म झोले हो’ लाई लिएर व्यङ्ग्य गर्न थालिसके। कोही भन्छन्, “झोले बन्ने भए जनताको पीडा बोक्ने झोला बोकेर हिँड्नुस् न!” कोही लेख्छन्, “यो त फेसबुकको झोला बोकेर भोट माग्ने नयाँ तरिका हो!” यस्ता टिप्पणीले अभियानको गम्भीरतालाई हल्का बनाइदिएको छ।

अर्कोतिर, यो अभियानले एमालेको आन्तरिक एकता र कार्यकर्तालाई उत्साहित गर्ने उद्देश्य राखेको हुन सक्छ। तर, जब नेताहरू फेसबुकमा ‘झोले’ बन्न व्यस्त छन्, तब सडकमा जनताले सोधिरहेका छन्— “हाम्रो झोलामा खाद्यान्न कसले हालिदिन्छ? हाम्रो ग्यासको सिलिन्डर कसले भर्छ? बिजुलीको बिल कसले तिरिदिन्छ?” यस्ता प्रश्नको जवाफ फेसबुकको भित्तामा लेखिएको ‘म झोले हो’ मा भेटिँदैन।

‘म झोले हो’ अभियानले नेपाली राजनीतिमा नयाँ बहस त सुरु गरेको छ, तर यो बहस कति टिकाउ छ, त्यो समयले बताउला। यदि यो अभियान साँच्चै जनताको पीडा बुझ्ने र समाधान खोज्ने दिशामा अघि बढ्छ भने यो स्वागतयोग्य छ। तर यदि यो केवल फेसबुकको ‘लाईक’ र ‘सेयर’ कमाउने स्टन्ट हो भने, यो झोला खाली रहनेछ। जनताले नेताहरूलाई झोला बोकेर हिँड्ने कार्यकर्ता होइन, झोलामा समाधान बोकेर आउने नेतृत्व खोजिरहेका छन्। त्यसैले, आदरणीय एमाले नेताज्यूहरू, फेसबुकमा ‘म झोले हो’ लेख्नुभन्दा पहिले सडकमा गएर जनताको झोला नियाल्नुस्। सायद त्यहाँबाट अभियानको साँचो अर्थ भेटिएला।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय