लिस्बन — पोर्चुगलको केन्द्रीय बैंकका गभर्नर मारियो सेन्टेनोले आप्रवासी र श्रमिक आवागमन (mobility) लाई देशको आर्थिक मेरुदण्ड भन्दै यिनैबिनाको पोर्चुगलको भविष्य सम्भव छैन भन्दै कडा चेतावनी दिएका छन्।
कोइम्ब्राको पोलिटेक्निक इन्स्टिच्युटको ४६ औं वार्षिकोत्सव समारोहमा बोल्दै सेन्टेनोले भने, “हाम्रो समाज र अर्थतन्त्रको आजको सफलताको मूलमन्त्र नै श्रम र जनशक्ति आवागमन हो। यो नभएको खण्डमा न युरोप टिक्छ, न पोर्चुगल।”
उनका अनुसार, पोर्चुगलको पछिल्लो पाँच वर्षको कुल आर्थिक वृद्धिको दुई तिहाइ हिस्सा आप्रवासन र श्रमिक आवागमनकै कारण सम्भव भएको हो। “यदि हामीसँग श्रमिकहरूको यो गतिशीलता नहुने हो भने, हामीले दुई तिहाइ विकास गुमाइसकेका हुन्थ्यौं,” उनले भने।
सेन्टेनोले दिएको तथ्याङ्क अनुसार, युरोजोन क्षेत्रमा पछिल्लो पाँच वर्षमा १ करोड २० लाख नयाँ रोजगारी सिर्जना भए, जसमा ६० प्रतिशत (७२ लाख) विदेशी मुलुकमा जन्मिएका तर अर्कै देशमा काम गर्ने आप्रवासीहरूले भरिएका थिए।
पोर्चुगलमै पछिल्लो एक दशकमा औसत तलब करिब दोब्बर भएको उल्लेख गर्दै सेन्टेनोले भने, “१० वर्षमै हामीले लगभग ९०० वर्षको इतिहासमा जस्तो आय वृद्धि अनुभव गरेका छौं।”
पोर्चुगलको आर्थिक वृद्धिमा पर्यटन क्षेत्रको हैन, बरु सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान, सञ्चार र अत्याधुनिक औद्योगिक क्षेत्रहरू को योगदान बढी भएको सेन्टेनोको भनाइ छ।
“यी क्षेत्रहरू औसतभन्दा माथिका तलब दिने, दक्ष जनशक्ति प्रयोग गर्ने र दीर्घकालीन विकासमा योगदान दिने प्रमुख क्षेत्र हुन्,” गभर्नर सेन्टेनोले उल्लेख गरे।
सेन्टेनोले सन् २००८ देखि २०१४ को वित्तीय संकटताका घर निर्माण क्षेत्रमा लगानी ८३ प्रतिशतले खुम्चिएको र उत्पादन ६० प्रतिशतले घटेको प्रसंग पनि स्मरण गरे। उनले भने, “यो ठूलो चुनौती हो, तर शिक्षाको मन्दिरमा बसेर भन्ने हो भने, यो चुनौती नै हामीलाई अगाडि बढ्ने मौका पनि हो।”
गभर्नर सेन्टेनोको यो अभिव्यक्तिपछि राष्ट्रपतिले भने आर्थिक दृष्टिकोण र सामाजिक उत्तरदायित्व छुट्याएर हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्। राष्ट्रपतिले सरकारहरूलाई बजेटीय लचिलोपनको सदुपयोग गर्दै प्रभावकारी नीति लागू गर्न आह्वान गरेका छन्।