काठमाडौं – राजतन्त्र पुनःस्थापनाको माग गर्दै राजतन्त्र समर्थक समूहले शनिबार नारायणहिटी दरबार संग्रहालय अगाडि सशक्त प्रदर्शन गरेका छन्। समाखुसीबाट सुरू भएको मोटरसाइकल र्‍यालीले नारायणहिटीको प्रांगणसम्म पुगेपछि सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले ‘राजा छिट्टै फर्किन्छन्’ भन्दै नारायणहिटी दरबार खाली गर्न चेतावनीसमेत दिएका थिए।

पछिल्लो समय मुलुकमा राजतन्त्र पुनःस्थापनाका लागि आवाज बढ्दै गएको छ। यस क्रममा  विशेषगरी व्यवसायी र राजनीतिकर्मी दुर्गा प्रसाई, यस आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिकामा छन्। प्रसाईले पटक–पटक राजसंस्थाको आवश्यकता र वर्तमान राजनीतिक अस्थिरता समाधानका लागि राजसंस्थाको पुनःस्थापनाको विकल्प खोज्नुपर्ने तर्क राख्दै आएका छन्। उनका गतिविधिहरूले जनता र युवापंक्तिमा राजतन्त्रको विषयमा पुनःचासो जगाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि निरन्तर रूपमा राजसंस्थाको पुनःस्थापनाको पक्षमा आफूलाई उभ्याउँदै आएको छ। पार्टीले देशभर विभिन्न स्थानमा जनसम्पर्क अभियान चलाएर राजतन्त्रको महत्त्वलाई जनतासमक्ष पुर्‍याउने काम गरिरहेको छ। यस किसिमका आन्दोलन र गतिविधिहरूले नेपालको राजनीतिक भविष्यमा परिवर्तन ल्याउन सक्ने सम्भावनालाई दर्शाएको छ।

राजतन्त्र समर्थक समूहले मुलुकमा स्थायित्व, राष्ट्रियता र प्राचीन गौरव फर्काउनका लागि राजसंस्थाको पुनःस्थापना अपरिहार्य रहेको भन्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय