काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग टेलिफोन संवाद गर्दै, हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप प्रयास गरिदिन आग्रह गरेका छन्।

इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कार्यरत जोशीलाई सकुशल र छिटो रिहा गराउन महत्वपूर्ण भूमिका खेलिदिन आग्रह गरिएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रपति अब्देललाई यस विषयमा विशेष पहल गर्न आग्रह गरेका थिए। जवाफमा राष्ट्रपति अब्देलले आफ्नो प्रयास जारी रहने र थप सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन्।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणको क्रममा जोशीलाई बन्धक बनाइएको थियो। इजरायल र हमासबीच दोस्रो चरणको बन्दी आदानप्रदानमा जोशीको नाम प्राथमिकतामा राख्नका लागि गरिएको प्रयासमा प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालले इजरायल-हमास युद्धविराम सम्झौताको स्वागत गरिसकेको भन्दै, उक्त सम्झौतामा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकालाई पनि महत्वपूर्ण बताएका छन्। साथै, उनले विश्व शान्तिका पक्षमा नेपाल सधैँ दृढ रहेको र यस मानवीय संकटको समाधानमा योगदान पुर्‍याएकोमा कतार र संयुक्त राज्य अमेरिकाको प्रयासलाई समेत धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति खालिललाई आगामी जेठ २ देखि ४ गते काठमाडौंमा हुने सगरमाथा संवादमा सहभागी हुन निमन्त्रणा गरेका छन्। उनले जलवायु परिवर्तनसँग सम्बन्धित विश्व मञ्चमा सहयोगका लागि पनि आग्रह गरेका छन्, जसमा नेपालले जलवायु परिवर्तन, हिमाल, र मानव जीवनका भविष्यलाई प्राथमिकतामा राखेर दुई वर्षे अन्तरालमा यो विश्वव्यापी संवादको पहिलो शृङ्खला आयोजना गर्न लागेको छ।

यस संवादका क्रममा दुई देशबीचको आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, संयुक्त राष्ट्रसङ्घका मञ्चमा उम्मेदवारी, र द्विपक्षीय सम्बन्धका विविध पक्षमा पनि छलफल भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय