काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुग्नुभएको छ। चार्टर्ड विमानमार्फत दिउँसो ३:५२ बजे काठमाडौं अवतरण गरेपछि साँझको समयमा उहाँ निर्मल निवासमा पुग्नुभएको हो। पोखरामा एक महिना बिताएपछि समिट एअरको विमानबाट आइतबार उहाँ काठमाडौं आइपुग्नुभएको थियो। तर, विमानस्थलबाट निर्मल निवास पुग्न उहाँलाई करिब तीन घण्टा लागेको थियो, जुन झण्डै साढे ६ किलोमिटरको दूरी हो।

विमानस्थलमा राजावादीहरूले उहाँको भव्य स्वागत गर्दै नाराजुलुससहित निर्मल निवाससम्म पुर्याएका थिए। यस अवसरमा लामो समयदेखि एकसाथ नदेखिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि एउटै भीडमा देखिए। राजतन्त्र समर्थक दुर्गा प्रसाईंले पनि पूर्वराजा शाहको शैलीमा गाडीबाट हात हल्लाउँदै विमानस्थलबाट निर्मल निवासतर्फ लागेका थिए।

केही दिनअघि प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा शाहले दिएको अभिव्यक्तिले राजावादीहरूलाई थप सक्रिय बनाएको छ। यो विषय सामाजिक सञ्जाल, संसद, र सडकसम्म फैलिएको छ। पोखरामा पनि राजावादीहरूले पूर्वराजा शाहलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए।

राजावादीहरूको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो। यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने टिप्पणी गर्दै “कसैलाई कुर्सीमा राख्दैमा राजा नबन्ने” धारणा सार्वजनिक गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय