

लिस्वन – हरेक वर्षको मार्च ८ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ। यो दिन महिलाहरूको समानताका लागि गरिएका संघर्षहरू, र उनीहरूले हरेक क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको स्मरणमा समर्पित छ। संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यस दिनलाई औपचारिक मान्यता दिए पनि यसको सुरुवात भने यसअघि नै भएको थियो।
अन्तर्राष्ट्रिय महिला दिवसको शुरुवात बीसौँ शताब्दीको सुरुआततिर भएको पाइन्छ। सन् १९०९ मा, अमेरिकाको समाजवादी पार्टीले फेब्रुअरी २८ मा पहिलो पटक महिला दिवस मनायो। यस अवसरमा न्यूयोर्कका १५ हजार महिलाहरूले न्यून तलब र कठिन कार्यस्थलको विरोधमा आन्दोलन गरेका थिए। सोही वर्ष, महिलाहरूको अधिकारका लागि काम गर्ने कार्यकर्ता क्लारा सेट्किनले डेनमार्कको कोपेनहेगनमा आयोजित समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा महिला दिवसको अवधारणा प्रस्ताव गरिन्। सो सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिलाहरूले भाग लिएका थिए, र सर्वसम्मतिमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गरियो।
सन् १९११ मा, अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डमा पहिलो पटक १ मिलियन भन्दा बढी मानिसहरूले मार्च १९ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडक प्रदर्शन गरेका थिए। विभिन्न देशहरूमा यसलाई मनाउने परम्परा सुरु भएको थियो।
महिला दिवसलाई मार्च ८ मा मनाउनको मुख्य कारण सन् १९१७ मा रूसका महिलाहरूले गरेको विरोध हो। रूसमा महिलाहरूले ‘रोटी र शान्ति’को नारा दिँदै आफ्नो जीवनस्तर र कामका शर्तहरू सुधार्न तथा प्रथम विश्वयुद्धको विरोधमा आन्दोलित भएका थिए। यस आन्दोलनलाई दबाउन गरिएको बल प्रयोगले रूसी क्रान्तिको शुरुवात गर्यो। यही घटना इतिहासमा ८ मार्चलाई महिला दिवसको रूपमा स्थापित गर्ने आधार बन्यो।
सन् १९७५ मा संयुक्त राष्ट्रसंघले पहिलो पटक औपचारिक रूपमा यो दिवस मनाउन थालेको हो, र दुई वर्षपछि संयुक्त राष्ट्रसंघको महासभाले यसको मान्यता दिँदै यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गर्यो।
अन्तर्राष्ट्रिय महिला दिवसको प्रमुख उद्देश्य लैङ्गिक असमानता अन्त्य गर्नु, महिलाका अधिकारको रक्षा गर्नु, र सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रहरूमा महिलाहरूले प्राप्त गरेका उपलब्धिहरूको उत्सव मनाउनु हो। यो दिनले संसारभरका महिलाहरूलाई समान अवसर, नेतृत्वमा सहभागिता, शिक्षा र अधिकारका लागि आवाज उठाउन प्रेरित गर्छ।
२०२५ को अन्तर्राष्ट्रिय महिला दिवसको प्रमुख नारा हो “सबै महिलाहरू र केटीहरूका लागि: अधिकार, समानता, सशक्तीकरण।” यस वर्ष यो दिनको अवसरमा युरोपेली संसदमा शान्ति, स्वतन्त्रता, र न्यायका लागि संघर्षरत महिलाहरूले आफ्नो विचार राख्ने छन्। उनीहरूसँगै, यूरोपीय परिषद र संघका सदस्यहरूले महिलामाथि हिंसा, लैङ्गिक असमानता, र समाजमा महिलाहरूको समान सहभागिताका विषयमा बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ।
महिला दिवस केवल एक दिनको उत्सव होइन, यो महिलाहरूको सम्मान, अधिकारको रक्षा, र समानताको लागि गरिएको विश्वव्यापी संघर्षको प्रतीक हो। संसारभरका महिलाहरूको योगदानलाई सम्मान गर्दै, यो दिनले भविष्यमा अझ बढी अधिकार र अवसरको सुनिश्चितताका लागि प्रेरणा दिन्छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal