

लिस्वन – इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को पोर्चुगल अडिसन आइतबार लिस्बनमा सम्पन्न भयो। ‘लभ लिस्बन’ रेष्टुरेन्टमा भएको यस कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा फाउण्डेसनका कार्यकारी निर्देशक चुडामणी भट्टराईले उपस्थिति जनाएका थिए भने विशेष अतिथिका रूपमा संस्थाका सांस्कृतिक विभाग प्रमुख ओमराज गुरुङ सहभागी थिए।
कार्यक्रम अत्यन्त उत्साहजनक भएको संयोजक देवी गर्बुजा मगरले बताइन्। ‘मेरो भ्वाइस युनिभर्स’ मा ३२ जना प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरे भने ‘मेरो डान्स युनिभर्स’ मा १६ जना प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए। नेपाली मौलिकता झल्किने पोशाकमा सजिएका प्रतियोगीहरूको प्रस्तुति प्रभावशाली रहेको थियो।
कार्यकारी निर्देशक भट्टराईले नेपाली भाषा, कला, र संस्कृतिको प्रवर्द्धन गर्ने यो कार्यक्रमले प्रतिभाशाली नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने बताए। संयोजक गर्बुजा मगरले पोर्चुगलमा पहिलो पटक आयोजना गरिएको यो अडिसनले नेपाली कला र संस्कृतिलाई नयाँ उचाइमा पुर्याउनेमा आफू ढुक्क रहेको बताइन्।
निर्णायक मण्डलमा ‘मेरो भ्वाइस युनिभर्स’ मा अमेरिकाबाट गायक तथा संगितकार केशब पौडेल र पोर्चुगलबाट गायक अर्जुन सोनाम, साथै ‘मेरो डान्स युनिभर्स’ मा अमेरिकाबाट नृत्य निर्देशक रुपेश उप्रेती र पोर्चुगलबाट नृत्य निर्देशक देवी गर्बुजा मगर रहेका थिए। कार्यक्रमको संचालन दिपेश विस्टले गरेका थिए।
अडिसनबाट गायनतर्फ ५ जना र नृत्यतर्फ ३ जना नेपाल जाने छनोट भएका छन्। नेपालका लागि काठमाडौँ, पोखरा, दमक, र नेपालगञ्जमा तथा अन्तर्राष्ट्रिय रूपमा बेलायत, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतका विभिन्न शहरहरूमा अडिसन गर्ने योजना रहेको जानकारी दिइएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal