काठमाडाैँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनका लागि महेशकुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुईवर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन्।

सो अवसरमा उनले आगामी दुई वर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धतापत्र पनि सार्वजनिक गरे। समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने मेरो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले अगाडि भने, ‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु। विजयी भएर शपथ लिएका दिनदेखि वार्षिक क्यालेन्डर र कार्ययोजना बनाएर सबैको विश्वास जित्ने गरी काम गर्ने संकल्प व्यक्त गर्दछु।’

अध्यक्षमा उम्मेदवारी घोषणासँगै प्रतिबद्धताहरू सार्वजनिक गर्दै श्रेष्ठले दुईवर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र नभई गैरआवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय