

काठमाडौं – नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।
नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।
यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए ।
वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र यूएईसहित १० राष्ट्रको सहभागिता रहेको थियो । नेपाल रहेको समूह ए मा मलेसिया, कतार, साउदी अरबिया र ओमान थिए । भने, यूएईको समूह बी मा कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal