

लिस्वन – बाग्लुङ्ग समाज पोर्तुगलले आयोजना गरेको कुविर मल्ल स्मृति युरो कप भलिवल प्रतियोगिताको उपाधि आयोजक बाग्लुङ्ग समाज पोर्तुगलको ए टिमले जितेको छ ।
पोर्तुगलको राजधानी लिस्वनको अलभलादे स्थित इनातेल कभर्ड हलमा २६ मार्चका दिन भएको प्रतियोगिता अन्तरर्गतको फाइनल खेलमा हाम्रो भिजन भलिवल क्लब लिस्वनलाई पराजित गरी प्रतियोगिताको उपाधि जितेको हो । समाजले उपाधिसंगै नगद पाँच हजार युरो र ट्रफी पनि प्राप्त गरेको छ ।
पोर्तुगलभरीबाट आठ टोली र माल्टाबाट एक टोली गरी जम्मा नौ टोलीको सहभागीता रहेको प्रतियोगितामा आयोजक बाग्लुङ्ग समाज ए ले हाम्रो भिजन भलिवल क्लब लिस्वनलाई २५-१६, २५-२० र २५-२२ को सोझो सेटमा पराजित गरी प्रतियोगिताको उपाधि जितेको हो ।
सेमीफाइनलमा मोना पोर्तुगललाई २५-२१,२५-२०, र २५-१७ को सोझो सेटमा पराजित गरी फाइनलमा पुगेको बाग्लुङ्ग समाज ए, भिजन भलिवल क्लब माथि पुर्णरुपमा हावी भएको थियो । हाम्रो भिजन क्लब भने जम्बुजिरा भलिवल क्लबलाई २१-२५, २५-२०, २५-१७ र २५(१० को सेटमा पराजित गरी फाइनलमा पुगेको थियो । उपविजेता बनेको हाम्रो भिजन भलिवब क्लबले नगर तीन हजार युरो सहित ट्रफी प्राप्त गरेको छ ।
यसअघि तेश्रो र चौथो स्थानको लागि हुने भनिएको खेल भने समय अभावका कारण रद्धगरी मोना पोर्तुगल र जम्बुजिरा भलिवल क्लबलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरीएको बाग्लुङ्ग समाज पोर्तुगलका अध्यक्ष केशव केसीले जानकारी दिए ।
प्रतियोगितको फाइनल खेल हुनुभन्दा अघि समाजका संस्थापक अध्यक्ष स्व. कुुबिर मल्लकी धर्मपत्नी बिना मल्ललाई प्रतियोगिताका प्रमुख अतिथि एनआरएनए पोर्तुगलका संस्थापक अध्यक्ष तथा बाग्लुङ्ग समाजका सल्लाहाकार पुर्ण हमाल, अध्यक्ष केशव केसी लगाएत अतिथिहरुद्वारा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पहिलो पटक कर्पोरेट टिमको सहभागीता
समाजले आयोजना गरेको उक्त भलिवल प्रतियोगितामा पहिलो पटक कर्पोरेट टिमको रुपमा पोर्तुगलको राजधानी लिस्वन स्थित मार्टिम मुनिज भन्ने ठाउँमा संचालमा रहेको रेष्टुरेन्ट ओदानले सहभागीता जनाएको थियो ।
यसअघि हुने गरेको प्रतियोगिताहरुमा औपचारिक वा अनौपचारिक रुपमा रहेका विभिन्न नेपाली समूदायका क्लबहरुले भाग लिने गरेको भएतापनि पहिलो पटक कर्पोरेट हाउसको रुपमा ओदान रेष्टुरेन्टले प्रतियोगितामा भाग लिएको थियो । कुनै पनि स्तरको प्रतियोगितामा पहिलो पटक सहभागी भएर उत्कष्ट नतिजा हासिल गर्न नसकेपनि आफ्नो टोलीबाट भएको प्रर्दशनबाट आफु खुसी रहेको टोलीका व्यवस्थापक तथा रेष्टुरेन्टका संचालक दिपा काफ्लेले बताईन ।


पहिलो पटक कर्पोरेट टोलीको रुपमा प्रतियोगितामा सहभागी जनाउँदै ओदान (निलो जर्सीमा)
प्रतियोगितामा ओदान रेष्टुरेन्ट सहित, बाग्लुङ्ग समाज ए, बाग्लुङ्ग समाज बी, मोना पोर्तुगल, हाम्रो भिजन भलिवल क्लब, जम्बुजिरा भलिबल क्लब, मगर समाज पोर्तुगल, माल्टा, साओतोतोनियो गरी जम्मा नौ टोलीको सहभागीता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal