काठमाडौं – नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ । आज विश्वकप लिग २ अन्तर्गत किर्तिपुर मैदानमा भएको खेलमा युएइलाई १७७ रनले पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता कायमै रहेको हो । यससँगै नेपाल विश्वकप छनोटमा सोझै पुग्न सक्ने सम्भावना पनि कायमै छ ।
नेपालले सन् २०१८ मा ४ वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो मान्यता २०२२ सम्मका लागि भनिएको थियो । तर, कोभिड १९ महामारीका कारण खेलहरु प्रभावित भएर विश्वकप लिग २ का खेलहरु नसकिएपछि यी खेलहरु पूरा नहुँदासम्मका लागि यो मान्यता कायमै थियो । अब आजको जितसँगै नेपालको यो मान्यता २०२७ को विश्वकप छनोटसम्मका लागि कायम रहनेछ ।
विश्वकप लिग २ मा कूल ७ टोलीहरु छन् । यीमध्ये शीर्ष ५ टोलीको एकदिवसीय मान्यता कायम रहन्छ । आजको जितपछि नेपाल ३६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । र, अब बाँकी खेलको नतिजा जेसुकै आए पनि नेपाल चौथो स्थानबाट तल झर्ने सम्भावना छैन बरु नेपाल अझै माथि चढ्ने सम्भावना भने छ । त्यसैले नेपालको एकदिवसीय मान्यता सुरक्षित भएको छ ।
यससँगै नेपाल २०२३ को विश्वकपका लागि सोझै ग्लोबल छनोटमा जाने सम्भावना पनि कायमै छ । नेपालले अझै २ खेल खेल्न बाँकी छ । यी खेल युएइ र पपुआ न्यू गिनीसँग खेल्नुपर्नेछ । यी २ खेल जित्न सकेमा नेपाल नामिबियालाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा पुग्नेछ । यो लिगका शीर्ष ३ टोली सोझै विश्वकपको छनोट पुग्नेछन् ।
ताजा समाचार
लोकप्रिय
© 2024: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal