

शंकर श्रेष्ठ
धादिङ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् ।
शुक्रबारदेखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौं केन्द्रिय महाधिवेशनबाट थापा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रिय निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाको विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी छन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघिदेखि तल्लीन थापा मगर यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँड सर्वसम्मत भएका छन् । सांगठानिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दिपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत भएका छन् ।
सात जनाको खुल्ला उपाध्यक्षमा पदमा भने १० जनाको उम्मेदवारी परेको छ । पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पुर्णकला विसी, शंकर विसी र तारापती सुवेदीको उम्मेदवारी परेको छ ।
प्रतिष्ठानको महासचिव शिव हमाल सर्वसम्मत बनेका छन् । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठानिक), कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत भएकी छन् ।
त्यस्तै सातवटा प्रदेश मध्य भुगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने ३ जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुल्ला सचिव पदमा पनि पाँच जना र २ जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
केहिदिन अघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुल्ला उपाध्यक्ष, भुगोल सचिव तर्फ गण्डकी प्रदेश, खुल्ला सचिव, खुल्ला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन् । यद्यपी निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन । सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने पनि देखिन्छ । यतिबेला उम्मेदवारहरु आफ्नो प्रचारमा व्यस्त छन् ।
यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । शुक्रबार राती नै मनोनयन दर्ता खुल्ला गर्ने कार्यतालिका भएपनि सर्वसम्मतको कसरतले आज दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुल्ला गरिएको थियो । सर्वसम्मत नभएका पदहरुको आज अबेरसम्म भएपनि मतदान गराउने निर्वाचन समितिले जनाएको छ ।
#pabilnews.com
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal