पाेर्तुगल- चर्चित कथा बाचक तथा प्रेरक वक्त साइग्रेस पोखरेलले पोर्तुगलको जम्बुजिरामा आफ्नो प्रस्तुती दिएका छन् । एनआरएनए पाेर्तुगलकाे आयाेजनामा जम्बुजिरा स्थित साला दि जम्बुजिरा र अलमेडा स्थित महात्मा गान्धी अडाेटाेरियम  हलमा पोखरेलले आफ्नै अन्दाजमा केही आफ्ना कथा सुनाए भने धेरै त्यहाँका नेपालीका कथा सुने ।

निर्धारित स्थानहरुमा आफ्ना प्रिय कथावाचकको प्रस्तुती हेर्नका लागि उल्लेख्य मात्रामा श्रोता तथा दर्शक निर्धारित समयभन्दा अघिदेखीनै जम्मा भइसकेका थिए । खचाखच भरिएको हलमा कार्यक्रमको शुरुवातमै भ्वासईस अफ पाेर्तुगलका सहभागी विवश पाेखरेलकाे गाउन कलाले सबैलाइ मन्त्रमुग्ध पारेकाे थियाे भने अर्का कलाकार बुद्ध लामाकाे बाँसुरीकाे धुनबाट कार्यक्रमकाे उत्कृष्ट शुरुवात भएकाे थियाे । जम्बुजिरामा पनि लोकप्रिय गायक जेवी ओली र दीपु विसीको कर्णप्रिय प्रस्तुती तथा कलाकार तथा मोडल रिया श्रेष्ठको नृत्यले सहभागीहरुमा निकैनै उत्साहा थपिसकेको थियो ।

लोकप्रिय कलाकारहरुको प्रस्तुतीमा झुम्दै गर्दा पनि साइग्रेसको प्रस्तुतीको व्यग्रता सहभागीहरु माझ झल्किएको भान भइसकेको थियो । यतिकैमा दर्शदीर्घाबाट हात हल्लाउँदै र सहभागीहरुसंग अंकमाल गर्दै कार्यक्रम हलमा प्रवेश गर्दा हलमा निकैनै रौनकता छाएको थियो ।

मंचमा उक्लिएर थोरै मेरो कथा अनि धेरै तपाइहरुको कथा भन्न आएको छु, भन्दै उनले शूरुमै विदेशीने आम नेपालीको कथा भने ।

बल्ल बल्ल घर धितो राखी, काजपत्र बनाउन सत्र चक्कर काटी
विदेश छिर्ने सपना संग, परिवार छोड्ने दुख साटी
विदेश त जसरी नि जान्छु भन्दै घरमा पिरीपिरी,
जाबाे भिजिट भिषाको लागि पनि १४/१५ लाख तिरी
बल्ल बल्ल युरोप अप्लाइ गरेँ,
पैसा बुझाइसके पछि बल्ल थाहा भयो, लागत भन्दा लाखौँ बढीमा परेँ

भन्दै, कविताबाट शुरु गरेका उनले, शुरुमै त्यँहा पुगेका सहभागीको कथा बोले । “ओहो कस्तो मेरै कथा भने जस्तो लाग्यो”, सहभागीले भने । त्यसपछि एकछिन अगाडी मात्र दोहोरी गीतको ‘फर्माइस’ गर्नेहरु पनि टुसुक्क कुर्सीमा बसे र हात बाँधेर पोखरेलको प्रस्तुतीमा मन्त्रमुग्ध हुन थाले ।

हो, जस्तोसुकै दर्शक र श्रोतालाई पनि टपक्क बाँधेर राख्ने कला छ साइग्रेससंग । त्यसैले पो घण्टौँसम्म आफ्नो प्रिय कथाकारको प्रस्तुतीको लागि प्रतिक्षारत रहेछन् ।

त्यसपछि पोखरेलले आफ्नो कथामा पोर्तुगललाई जोडे । कथा साइग्रेसले भने, व्यथा पोर्तुगलबासी नेपालीको भने । पोर्तुगलमा पाइला राखेको पहिलो दिन देखी आम नेपालीले भोग्ने यथार्तलाई आफ्नै शैलीमा प्रस्तुत गरे । प्रत्येक हरफहरुमा सहभागीहरुले आफुलाई पाए ।

पोर्तुगल झरे लगत्तै फिनान्स भर्नु पर्दो रहेछ,
सोसल बनाउन पनि कन्ट्रयाक्त गर्नु पर्दो रहेछ ।
मै बनाइदिउँला नि त भाइ भन्दै एउटा चिन्या दाईले लाइदियो
फोगटको कन्ट्रयाक्टलाई पनि त्यही दाईले १००० युरो खाइदियो

******************

रातो पासपोर्ट भन्दा भन्दै अर्को तनावमा फसियो, यता आफ्नो भाको हरियो पासपोर्टको म्यादै सकिएछ ।
उता पेरिस छिरे दुतावासमा बल्ल पुग्छरे, यता ६ हजारको पासपोर्ट फस्याछ ।
५० हजार नेपाली भाको देशमा पनि एउटा पासपोर्ट बनाउन अर्काको देश धाउनु पर्ने ? जाबो एउटा मामुली पासपोर्ट बनाउन पनि सोर्स फोर्स लाउनु पर्ने ?

भन्दै पोर्तुगलमा आम नेपालीले भोग्ने गरेको व्यथालाई आफ्नै शैलीमा शुरु गरेका उनले काम कन्ट्रयाक्ट, ट्याक्स, कार्ड बनाउन भोगेको सास्ती देखी अहिले विकराल बन्दै गएको राहदानी बनाउन पाइरहेको हण्डर र घर नपाउने समस्यालाई पनि टपक्क टिपे लयात्मक शैलीमा सहभागीहरुकै कथा भने ।

यी अहिले पोर्तुगलमा रहेका धेरै नेपालीहरुले दिनदिनै भोगीरहेका समस्याहरु हुन् । यी समस्याहरुबाट आजित भएकाहरुलाई कोही त आए मेरा व्यथा सुन्न भन्नेझै लाग्यो होला । त्यसैले यी कथामा उनीहरुले आफुलाई पाएनन् मात्र मौका पाउँदा प्रश्न पनि राखे ।

साइग्रेससंगै पुगेका एनआरएनए पोर्तुगलका पदाधिकारीहरुलाई पनि आफ्नो समस्या सुनाउने उपयुक्त थलो यो पनि हो भने ठानेँ र कथाले भने जस्तै हाम्रो पनि अहिले राहादनी लगाएतको समस्या विकाराल छ, यस्को समस्या समाधानको लागि पहल गरिदिनुस न है भन्दै अनुरोध गरे ।

साइग्रेसले पनि तपाइहरुको व्यथाले साँच्चै मलाई पनि पोल्यो । यो व्यथालाई कथा बनाएर मात्र भन्दिन, सम्बन्धित निकायसम्म पुर्याउन म मेरो तर्फबाट सकेको भुमिका खेल्छु, तपाइहरुकै यही व्यथालाई कथा बनाएर लिएर आउँछु, सम्बन्धित निकायले सुन्नेछ र गम्भिर भएर समस्या समाधान गर्न तर्फ अग्रसर हुनेछ भनेर केही आशा पनि जगाए ।

त्यसपछि पोखरेलले आफ्ना केही चर्चित भिडियो कथा, केही प्रेरणादायी कथा सुनाए । मानिस जस्तोसुकै परिस्थितीमा पनि आफुलाई सकारात्मक राख्न सक्नुपर्छ भन्ने बाँकी कथाका सारहरुले सहभागीहरुका केही सकारात्मक उर्जा थप्न मद्दत गरेको हुन सक्छ ।

सास फेर्नुमात्र जीवन होइन, जस्तोसुकै नकारत्मक वा सकारात्मक परिस्थितीमा पनि कलात्मक ढंगले जीउनु जिवन हो । त्यसैले समस्या र चुनौती, समाधान र अवसरकै लागि तपाइको पछि लागेका हुनसक्छन्, के थाहा त्यसले तपाइको जिन्दगीका अन्य अवयवहरुको ढोका खोल्न सक्छन् । त्यसैलै समस्याहरुसंग डराएर होईन डटेर अगाडी बढ्नुस जिन्दगीमा निराशाले कहिल्य डेरा जमाउने छैन, उनका कथाहरुको सार थियो ।

साइग्रेस आफ्ना कथाहरुले सहभागीहरुलाई केही प्रेरणा दिएर गइसकेकपछि एनआरएनए पोर्तुगलका अध्यक्ष रविन अधिकारीले सहभागीहरुलाई अहिले देखिएको राहादानी समस्यालाई हल गर्न आफु र सिंगो एनआरएनए लागि परेको बताए । उनले फ्रान्स स्थित नेपाली दुतावास, तथा नेपाल स्थित पराराष्ट्र मन्त्रालय, अन्य विभिन्न सरोकारवाला निकायहरुसंग यस विषयमा विगत केही समयदेखी निरन्तर छलफल भइरहको र यो समस्याको समाधान छिट्टै निस्कनेमा आशावादी देखिए । अब पुनः एनआरएनएको वैठकमा यो समस्याका सम्बन्धमा नयाँ तरिकाबाट समाधानको लागि पहल गर्ने विषयमा निर्णय गरेर जाने पनि बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय