

काठमाडौं – केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङबारे छानबिन अघि बढाएको छ। क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै खेल मिलेमतोमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि सिआइबीले खेलाडीहरु सँग सोधपुछ गर्न सुरु गरेको हो।
सिआइबीले हालसम्म ७ जना खेलाडीसँग सोधपुछ गरिसकेको छ। ३ जना नेपाली खेलाडी र ४ जना विदेशी खेलाडीसँग सिआइबीले सोधपुछ गरेको हो। यस्तै, क्यानका पदाधिकारीहरुसँग पनि प्रहरीले सवालजवाफ गरेको छ।
विवादित भए पनि हाल सो लिगका खेलहरु जारी छन्। त्यसैले प्रहरीले खेलको तालिका मिलाएर अन्य खेलाडीहरुसँग पनि बयान लिने जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लिगमा ‘बेटिङ’ हुने गरेको देखिएको हो। भारत भागेको क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै ‘बेटिङ’मा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ। सो कम्पनीले एक खेलाडीलाई एक लाखदेखि तीन लाखसम्म ‘अफर’ गरेको समेत खुलेको हो।
सेभेनथ्री स्पोर्ट्सका मालिक भारत गएपछि पनि उनले क्यानलाई एक करोड रुपैयाँ पठाएको समेत देखिएको छ।
प्रहरीको अनुसन्धानमा फिक्सिङमा ३ देखि ४ जना नेपाली र ५ जनाभन्दा बढी विदेशी नागरिकको भूमिका देखिएको खुलेको छ।
लिगमा अनिमियतता भएको खबर बाहिरिएपछि आएसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal