• नवराज दुवाडी 

(टिप्पणी) गत बिहिबार र शुक्रबार नेपाल आईडलका टप ११ का प्रस्तुतीहरु भए । तर दुईवटा ‘एपिसोड’भर जम्मा जम्मी २-३ वटा प्रस्तुतीहरु मात्र सुन्न लायक भए । बाँकी सबै गीत शुरु हुनासाथ ‘स्कीप गर्नु’ पर्ने ।

यसपालीको नेपाल आईडलको सबैभन्दा कमजोर पक्ष निर्णायकहरुको जजमेन्ट र प्रस्तुती उपर दिने प्रतिक्रिया नै हुन् । हुनत निर्णायक मण्डलमा शम्भुजीत बास्कोटा जस्तो ‘लिजेण्ड’ संगीतकार तथा गायक गायिका सुगम पोखरेल तथा सुवानी मोक्तान जस्तो लोकप्रिय तथा चर्चित गायक गायिका छन् । तर उनीहरुको निर्णाय क्षमतामा त्यो गुणस्तरीयता अझै देखिएको छैन ।

प्रतिष्पर्धा गर्न गएका प्रतियोगीहरु हुन्, राम्रो गर्दा पनि र गीत बिगार्दा पनि जजहरुको एकै खालको निरस प्रतिक्रियाले न प्रतियोगीहरुलाई प्रगती गर्न मद्दत पुग्छ न हेर्ने दर्शकहरुलाईनै बाँधेर राख्न सकिन्छ । निर्णायकहरुको क्षमतामा प्रश्न होईन, उनीहरुले प्रतियोगीहरुमाथि उनीहरुको क्षमता अनुसार जज गर्न नसक्नुमा प्रश्न हो ।

निर्णायकहरु मध्ये पुराना दिग्गज हजारौँ गीतका श्रष्टा शम्भुजीत बास्कोटा सबैभन्दा कमजोर देखिन्छन् । उनको कलामा होईन, तर प्रतिष्पर्धा गर्न आएका कलाकारहरु माथि गर्ने ‘जजमेन्ट’मा उनीसबै भन्दा कमजोर देखिईराखेका छन् । न उनले गीतको प्राविधिक पाटोबाट टिप्पणी गर्छन्, प्रतियोगीको प्रस्तुती न गीतको कुनै पृष्ठभूमी । उनको हाउभाउ र बडी ल्याङ्ग्वेज हेर्दा लाग्छ, उनलाई त्यहाँ जबरजस्ती राखिएको छ ।

कार्यक्रममा कुनै अतिथि आउँदा समेत उनी कुर्सीबाट उठ्न खोज्दैनन् । कति सम्म भने प्रतियोगीताका एक जना “गोल्डेन माईक होल्डर”ले टप ११ प्रस्तुतीमानै हातमा गीत लेखेर हेरेर गाउँदा समेत कुनै टिप्पणी गर्ने कोसिस गरेनन् । त्यसैले त्यहाँ उनको उपस्थिती केबल टाइमपास गर्न मात्र जस्तो देखिन्छ ।

गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान केही भन्न खोजिरहेका छन् जस्तो गरि सुरु गर्छन् तर अन्त्यमा उनीहरुको टिप्पणी पनि न त कुनै ‘कन्स्ट्रक्टिभ’ हुन्छन् न कुनै ‘टाईमिङ’ । बरु तुलनात्मक रुपमा सबैभन्दा जुनियर भएपनि सुवानी केही हदसम्म अलि अगाडि देखिन्छिन् ।

अघिल्ला पटकका नेपाल आईडलमा जस्तो यस पटक त्यति रौनक नहुनुको अर्को पक्ष हो, प्रतियोगीहरुको गुणस्तर । अघिल्ला प्रत्येक सिजनहरुमा १-२ जना प्रतियोगीहरु यस्ता थिए, जस्को प्रस्तुती हेर्न दर्शक प्रतिक्षारत हुन्थे । त्यो नेपाल आईडलमा मात्र नभएर हरेक किसिमको गायन प्रतियोगीताहरुमा हुन्छ । तर यसपालीको नेपाल आईडलमा आइडललाई ‘होल्ड’ गराउन सक्ने एक जना पनि प्रतियोगी देखिएका छैनन् । नेपाली तारा सिजन ३ को टप ३ मा पुगिसकेका र केही नेपाली चलचित्रका गीतहरुमा पार्श्वगायन गरिसकेका सुरेश लामा ‘एभरेज’ भन्दा केही माथि लागे पनि कहिले काहीँ स्टेजमा गर्ने ओभर एक्टिङले कुन खाल्डोमा गाएर जाकिन्छन भन्ने भान हुन्छ ।

प्रतियोगितामा दुई जना “गोल्डेन माईक होल्डर”हरु छन्, राजकुमार परियार र मदन गुरुङ । र सबैभन्दा कन्तविजोग पनि यीनीहरुकै छ । एउटा “गोल्डेन माईक होल्डर”हरु प्रस्तुती दिन आउँदा आम दर्शक र श्रोताको छुट्टै आशा हुन्छ, । तर गत बिहिबार शुरुमै प्रस्तुती दिएका “गोल्डेन माईक होल्डर” राजकुमार परियारले आनन्द कार्कीको ‘यी हल्लाहरु हुन तिमिले सुनेका…’ बोलको गीत गाए । आनन्द कार्की अतिथि बनेको यो एपिसोडमा उनकै गीत प्रतियोगीताकै सबैभन्दा “अब्बल” भनिएकाले गाउँदा बबाल हुनुपर्ने हो । उनले गीत ठिकै गाएका थिए । तर पुरै गीत हत्केलामा हेरेर गाए, जुन एकदमै नराम्रो देखिएको थियो ।

तर सबैभन्दा अचम्म लाग्दो कुरा के भयो भने त्यसरी हेरी हेरी गीत गाउँदा समेत शम्भुजीत बास्कोटाले त्यसमा टिप्पणी गर्न चाहेनन् । अझै राम्रो गर्दै जानु भन्ने प्रतिक्रिया दिए र चुप बसे बरु सुवानी र सुगमले त्यसमा केही टिप्पणी गरे तर कडा रुपमा होइन हल्का फुल्का । यस्ता हल्काफुल्का टिप्पणीले प्रतियोगितालाई नै हल्का बनाइराखेको हुन्छ ।

अर्का गोल्डेन माइक होल्डर मदन गुरु ङको प्रस्तुतीहरु ठीकठाकै भएपनि बेलाबेलामा उनी गीतको शब्द उच्चारणमा भने नराम्रोसंग चिप्लिने गरेका छन् ।

अनि यसपालीको नेपाल आइडलमा देखिएको अर्को कमजोर पक्ष भनेको स्टेज र बाद्यबादन टोली हो । जस्ले प्रतियोगितामा खासै रौनक ल्याउन सकेका छैनन् । अहिले चलिरहेको सारेगमप लिटल च्याम्स र भर्खरै सकिएको भ्वाइस अफ किड्समा स्टेज र बाद्यबाधनले मन्त्रमुग्ध बनाइराखेका छन् । त्यसमाथि न्ह्यु बर्जाचार्य, इन्दिरा जोशी, कालिप्रसाद बास्कोटा र प्रमोद खरेलका सटिक र “टु दि प्वाइन्ट” कमेन्ट सुन्ने र जजमेन्ट गर्ने तरिकाको साक्षी भइसकेका दर्शक र श्रोतालाई यस्ता खालका अल्छीलाग्दा बनावटी कमेन्ट र जजमेन्ट, अनि प्रतियोगीहरुको लपारबाहीले नेपाल आइडलको ग्राफ बढ्ने होइन घट्ने निश्चित छ । निर्देशक सुरेश पौडेलले बेलैमा ध्यान पुर्याउन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय