बाल्टिमाेर – विश्वमै पहिलाे पटक अमेरिकी पुरुषमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएकाे छ । चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि ५७ वर्षका डेविड बेनेटको शरीर स्वस्थ भइरहेको छ ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

‘प्रत्यारोपण गर वा मरको अवस्था थियो’, बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए, ‘मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो, तर यो नै मेरो अन्तिम विकल्प हो ।’

यो शल्यक्रिया नभएको भए बेनेट जीवित रहने सम्भावना थिएन । त्यसैले युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न विशेष अनुमति दिएको थियो ।

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई ‘अंग अभाव संकटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकामा हरेक दिन अंग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको मृत्यु हुने गरेको छ ।

अहिले एक लाख भन्दा धेरै अमेरिकीहरू अंग प्रत्याराेपणकाे पर्खाइमा छन् । यो कमीलाई पूरा गर्न जनावरको अंग प्रयोग गर्ने सम्भावनालाई धेरै पहिले देखि अनुसन्धान गरिँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय