काठमाडाैँ – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।

उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।

भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठामा झुन्डिरहेको अवस्था । यो घटनापछि के गर्ने ? भन्ने कुरामा प्रहरी पनि अलमलमा प¥यो । त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो ।

एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए । शुक्रबार साँझ मात्र उनका बुबा, भाइ र श्रीमती घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो ।

हालसम्म प्रहरीले मृत्युको कारण’ केही बताएको छैन । यद्यपि, सोधपुछका क्रममा कार्यालयका कर्मचारीले बिहान खाजा लिएर जाँदासम्म उनी सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् ।

अपहरण तथा शरीर बन्धक घटनामा संलग्न रूपन्देही अमुवाका अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा एसएसपी यादवसहितलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको जनाइएको छ । सो अभियोगमा टण्डनविरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरूले म्याद गुजारेका थिए । यो घटनामा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो ।

प्रहरी प्रधान कार्यालयले अपहरण तथा शरीर बन्धक घटनामा संलग्न टण्डनलाई उन्मुक्ति दिएको आरोपमा एसएसपी भीम ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । स्रोतका अनुसार छानबिन समितिले एसएसपी यादवसहित २० जनालाई दोषी ठहर गरेको थियो । २० मध्ये पाँच जनाले अवकाश पाइसकेका छन् । छानबिन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

२९ माघ २०६४ मा टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलासा भएपछि बहालवाला १५ जना प्रहरीलाई लिखित स्पष्टीकरण मागिएको स्रोतले जनाएको छ । सो अभियोगमा टण्डनविरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरूले म्याद गुजारेका थिए ।

रामग्राम नगरपालिका–२ नवलपरासीका यादव पछिल्लो समयमा तनावमा रहेको उनीनिकट व्यक्तिहरूको भनाइ रहेको छ । वृत्ति विकासमा पछाडि परेको पीडा त थियो नै, अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोप लागेपछि उनी झन् तनावमा थिए । जागिर अवधिभर विवादमा नतानिएका उनमा टण्डनलाई उन्मुक्ति दिएको आरोपले भने बेचैनी बढाएको थियो ।

त्यसो त उनले हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षकको खुला प्रतिस्पर्धामा नाम निकाल्न सफल भएका थिए । क्षत्रीलगायतले वैशाखमा नियुक्ति पाउँदा यादवसहित ४० जना वैकल्पिकमा परे । उनले चैतमा मात्रै नियुक्ति पाए ।

त्यतिबेला वैकल्पिकमा पर्नेमा हालका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा पनि थिए । यीमध्ये एक जना आगामी वैशाख तेस्रो साता आईजीपी बन्दै छन् । साथीहरू आईजीपी बन्न लागिसक्दा आफू डीआईजी पनि बन्न नसकेको र एसएसपीबाटै घर जानुपर्ने अवस्था आउन लागेकोमा उनी निराशजस्तै देखिन थालेको निकटस्थहरूको भनाइ छ ।

नेपाल प्रहरीमा एसएसपीका लागि भएको ५५ वर्षे उमेरहदको व्यवस्थाका कारण उनले १५ माघमा अवकाश पाउँदै थिए । डीआईजीमा बढुवा भएको अवस्थामा भने उनी थप एक वर्ष सेवामा रहन्थे ।  #Rajdhanidaily

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय