• शिरिषबल्लभ प्रधान

राजनीतिमा सधैँ पपुलर निर्णय मात्र लिनुपर्छ भन्ने जरुरी छैन । कहिलेकाहिँ रणनीतिक हिसाबले सही तर अलोकप्रिय निर्णय पनि लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यतिबेला चर्चामा छन् । उनले पार्टी सभापति पदमा उम्मेदवारी दिएकाले भन्दा पनि आफ्नो हारपछि किन सभापति पदका अर्का प्रत्यासी शेरबहादुर देउवालाई जिताउनमा मदत गरे भन्ने कुराले गर्दा उनको चर्चा छ ।

त्यसो त उनले पार्टीको आन्तरिक निर्वाचनमा कसलाई र किन समर्थन गरे भन्ने कुरा आम जनताको चासो र चिन्ताको विषय त्यति हैन । जहाँसम्म देउवा र शेखरबीच उनले कसलाई समर्थन गरे भन्ने विषय छ । त्यो तात्कालिक परिस्थितिअनुकूल गर्ने निर्णय हो । शेखरभन्दा प्रकाशमान पार्टीमा सिनियर हुन् तर रामचन्द्र पौडेल नेतृत्वको इतरपक्ष उनलाई सभापतिमा उठाउन सहमत नभएपछि उनी आफ्नै बलबुतामा उठेका हुन् । र उनले पाएको तीन सय ७१ मत उनको निम्ति मरिमेट्ने महाधिवेशन प्रतिनिधिको मात्रै मत हो, पौडेल वा अन्य कुनै समूहको होइन ।

जहाँसम्म सभापतिका अर्का प्रत्यासी शेखरको कुरा छ, उनीसँग कोइराला परिवारको विरासत छ तर उनी निकै जुनियर कोइराला हुन् । दुई दशक जति मात्र भयो पार्टीमा उनको सक्रियता देखिएको । त्यसैले उनले एकैपल्ट पार्टीको उच्च नेतृत्व सम्हाल्न सक्छन् भन्ने विश्वसनीय आधार के छ रु कांग्रेसमा कोइराला र सिंह परिवारको उत्तिकै योगदान छ ।

तर सभापति र प्रधानमन्त्री पदमा विगत २५र३० वर्षको समयमा सधैँ एउटै परिवारले मात्र अवसर पाउने गरेको छ । जबकि गणेशमान सिंहले पार्टी सभापति र प्रधानमन्त्री पद दुवैलाई त्यागेर अतुलनीय उदाहरण देखाए पनि उनकै पक्षको खेदो खन्ने गरिएको छ । शेखर न पार्टीका उपसभापति, न महामन्त्री न सरकारका कुनै जिम्मेवारी सम्हालेका एकैचोटी हाइजम्प गरेर सभापति बन्ने सपना देखे, जुन प्रकाश र देउवाको अन्तिम समयमा सहकार्य हुनाले सम्भव भएन । त्यसलाई अस्वाभाविक मानेर आकाशै खसेजस्तो सामाजिक सञ्जालमा जुन प्रतिक्रिया दिइएको देखिन्छ, त्यसको औचित्य देखिँदैन ।

अहिले राप्रपामा राजेन्द्र लिङदेनले पार्टीका पुराना हस्ती कमल थापालाई हराएर पार्टी सभापति पद सम्हालेपछि नयाँ पुस्तामा नेतृत्व पुस्तान्तरण हुनपर्ने कुरा नेपालको राजनीतिक वृत्तमा जोडदाररूपले चलेको हो । तर राजनीतिमा कुनै एउटा घटनालाई निरपेक्ष वा स्वतन्त्ररूपमा व्याख्या गरेर त्यसको निचोड निकाल्न खोज्नु गलत हुनेछ । लिङदेन कसरी विजय भए भन्नेबारे कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप भएको भन्ने आरोप लगाएबाट के सिद्ध हुन्छ भने त्यहाँ सो पार्टीमा पुस्तान्तरण भए पनि त्यो प्रतिगमनको लागि थियो र स्वाभाविक थिएन । उता नेकपा एमालेमा दुईरदुई पल्ट संसद् विघटनको श्रेय लिने अध्यक्ष केपी शर्मा ओलीको पुस्तान्तरण किन भएन भन्ने प्रश्न उठ्ला ।

त्यहाँ प्रतिगमनलाई रोक्न पुस्तान्तरणको प्रक्रिया आवद्ध भएको हो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको निम्ति जुन कदम चाले, त्यो अग्रगामी कदम थियो । तसर्थ अग्रगमनलाई साथ दिने देउवालाई सिंहले एकपल्ट सभापतिमा जिताउन साथ दिएर कुनै गल्ती गरेका छैनन् । त्यसो त सिंह र देउवाबीच प्रजातान्त्रिक कांग्रेसको निर्माण हुुँदा पनि सहकार्य भएकै हो । ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा झुटो मुद्दामा देउवालाई फसाइँदा सिंहले पनि उनलाई साथ दिएर बसेकै हुन् ।

राजनीतिमा पुस्तान्तरण सहज र स्वाभाविक हुनपर्छ, सुधारोन्मुख हुनपर्छ र समावेशिताको लागि हुनपर्छ । त्यसप्रकारको पुस्तान्तरणले पार्टीमा विधि र पद्धति कायम गर्छ र पार्टीलाई चुस्त, दुरुस्त बनाउँछ भने मात्र त्यो सार्थक हुन्छ । केवल व्यक्ति परिवर्तनको उद्देश्यले गरिने पुस्तान्तरणले पार्टीलाई अग्रगमनमा लान सक्दैन । के शेखरमा पुस्तान्तरणले पार्टी देउवाभन्दा बढी समावेशी, सुधारोन्मुख, विधि, पद्धतिमा आधारित प्रगतिगामी हुन मदत गर्ला त रु यो प्रश्न पार्टीका हरेक जागरुक व्यक्तिले सोध्न पर्ने विषय हो । पार्टीको कुनै जिम्मेवार पद नसम्हालेका, पार्टी सञ्चालन, पद्धति विकासमा कुनै योगदान र अनुभव नै नभएको व्यक्तिबाट त्यस प्रकारको आशा गर्न सकिन्न ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमानले व्यक्तिविरुद्ध होइन, गलत नीति र क्रियाकलापविरुद्ध आवाज उठाएका हुन्, पार्टी विधान, नीति र पद्धतिअनुकूल सञ्चालन हुन प(यो भनी कदम चालेका हुन् । अर्को प्रश्न के पनि उठ्छ, भने के पार्टीको कुनै जिम्मेवार पदमा बसेर कहिल्यै काम नगरेका व्यक्तिको हातमा नेतृत्व गएको खण्डमा प्रकाशमानले उठाएका मुद्दाहरूमा सम्बोधन हुनसक्थ्यो र रु प्रकाशमानले पार्टीमा विधि, पद्धतिका साथै समावेशिताका मुद्दाहरू उठाउँदै आएका हुन् । कोइराला परिवारमै कनिष्ठ नेतामा गनिएका शेखरको विजयले के विधि, पद्धति र समावेशिताजस्ता कुराहरूको सम्बोधन देशकै सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले गर्नसक्थ्यो त रु

उता अर्का नेता विमलेन्द्र निधि ९जो तराई क्षेत्रको प्रतिनिधित्व गर्छन्०ले पनि संस्थापन समूहमा विद्रोह गरेरै आफ्नो उम्मेदवारी दिएका हुन् । उनले पनि अध्यक्ष पदको पराजयपछि प्रकाशमानसँगै मिलेर देउवालाई विजय गराउन साथ दिएका हुन् । नेपाली कांग्रेसमा लामो समयदेखि काठमाडौँ र तराईका मुद्दा ओझेलमा परेकै हो । अब सिंह र निधिबीच सहकार्य हुनसके काठमाडौँ र तराई दुवै क्षेत्रका मुद्दा सम्बोधन हुनुका साथै दुवै क्षेत्रलाई राजनीतिको मूलधारमा ल्याउन कसरत गर्नुपर्ने आवश्यक देखिन्छ र देउवाको सहयोग त्यसमा भएको खण्डमा त्यो कार्य त्यति कठिन हुने छैन होला ।

जहाँसम्म वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीले सम्मान गर्नुपर्ने कुरा छ, उनले उपप्रधानमन्त्री र संसद्को सभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी पाएकै हुन् । पटक–पटक गरी कहिले पार्टी सभापति त कहिले प्रधानमन्त्रीको उम्मेदवारी दिने अवसर पाएकै हुन् । त्यसमा उनले सभामुखमा सफलता हासिल गरे भने पार्टी सभापति र प्रधानमन्त्री पदको चुनावमा असफल भए भने अरुलाई दोष दिने ठाउँ छैन । चौधौँ महाधिवेशनमा उम्मेदवार छान्ने प्रक्रियामा इतर समूहको उम्मेदवारीमा कुरा मिल्न नसक्दा जब पौडेल आफैँ प्रतिस्पर्धाबाट अलग भइसकेपछि प्रकाशमानले पौडेल समूहको पछि लागिरहनुपर्छ भन्ने जरुरी पनि छैन ।

कुनै बखत गणेशमानसिंहलाई पार्टीले पाखा लगाएको बेलामा उनलाई साथ दिने देउवा नै थिए र देउवाले सिंहकै प्रेरणास्वरूप पार्टी विभाजन गरी ने।कां। प्रजातान्त्रिक गठन गर्दा सिंहले त्यसमा देउवाको नेतृत्वलाई स्वीकारी महामन्त्रीको जिम्मेवारी सम्हालेको कुरा यहाँ स्मरणीय छ । पछि पार्टी एकीकरण भएपछि सुशिल कोइरालासँग प्रतिस्पर्धा गरी देउवा १३औँ महाधिवेशनमा पार्टी सभापति बनेका हुन् । यसरी पार्टीमा कहिले को पछि पर्ने त कहिले को अघि पर्ने र कहिले कसलाई साथ दिने त कहिले कसलाई, यस्तो प्रक्रिया निरन्तर चलिरहन्छ, जसले पार्टीलाई जीवन्त राख्न मदत पनि गर्छ । यिनै कुराहरूलाई लिएर सामाजिक सञ्जालमा जुन सिंहविरुद्ध अनर्गल प्रचार गरिएको छ, त्यो कदापि प्रजातन्त्रवादीहरूले गर्नसक्ने कार्य हुनै सक्दैन । यसरी सामाजिक सञ्जालमा लेख्नेहरूले आफ्नो हैसियत र मर्यादालाई बुझेर सीमाभित्र रहेर आलोचना गरेमा मात्र त्यो अर्थपूर्ण र अग्रगमनको निम्ति सहायक सिद्ध हुनेछ ।

अन्त्यमा, नेपाली कांग्रेसमा कसैले चाहेर पनि नचाहेर पनि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको क्रम अब साँच्चिकै सुरु भएको मान्न पर्छ । महामन्त्रीमा प्रकाशमान समूहका विश्वप्रकाश शर्मा र शेखर समूहका गगन थापाको विजयले पार्टीमा थप ऊर्जा र उत्साह निर्माण गर्न सहयोग पुग्ने कुरा निश्चित छ । महामन्त्रीबाट नै पुस्तान्तरणको क्रम सुरु हुनु कुनै चानचुने कुरा होइन । यसबाट युवाहरू हतोत्साही नभएर उत्साहित र थप ऊर्जाशील हुनेछन् । अब उनीहरूको आवाजको पनि कदर भएको यसलाई मान्नै पर्छ ।

अहिले सामाजिक सञ्जालमा प्रकाशमानविरुद्ध जुन प्रकारले विषवमन गरिएको छ, त्यो प्रजातन्त्र र स्थायित्वका विरुद्ध नियोजित षड्यन्त्र हो भन्ने घामजस्तै छर्लङ्ग भइसकेको छ । उहाँले शिवजीले कालकुट विष पिएजस्तै ती विष पिउन सक्नुहुन्छ भन्नेमा शंका छैन । समुद्रमन्थन गर्दा पहिले विष निस्कनु स्वाभाविक हो । अहिले नेपाली कांग्रेसमा पनि १४औँ महाधिवेशनमा वैचारिक र सैद्धान्तिक मन्थन नै भएको हो, जसबाट कुनै महत्वपूर्ण निचोड निस्कने वा सन्देश प्रवाहित हुने कुरा निश्चित छ । त्यो विष शिवजीले जस्तै पिइदिएका छन् प्रकाशमानले र अब पार्टीमा अमृत वर्षा हुने नै छ, जसबाट सम्पूर्ण नेपाली जनता लाभान्वित हुने कुरामा शंका गर्नुपर्ने देखिँदैन ।

(आर्थिक दैनिकबाट)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय